नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन नदिने बताउनुभएको छ । एमालेको देशव्यापी चुनावी अभियानको दार्चुलाबाट सुरुवात गर्नुहुँदै अध्यक्ष ओलीले दार्चुलामा मिचिएको नेपाली भूमि फिर्ता गरिने बताउनुभयो ।
उहाँले यो अभियान दार्चुलाबाट सुरु हुनुमा राष्ट्रियता र विकास पहिलो प्राथमिकतामा रहेको समेत बताउनुभयो । पछाडि परेको क्षेत्रको विकासका लागि नेकपा एमाले जहिल्यै पनि जनताको साथमा रहेको बताउँदै उहाँले आफू प्रधानमन्त्री हुँदा यस क्षेत्रको मिचिएको भू–भाग समेटेर चुच्चे नक्सामा समेटिएको समेत बताउनुभयो । दार्चुलाको विकास र समस्याका बारेमा आफु जनकार रहेको बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा धेरै कामहरू भएको समेत दाबी गर्नुभयो । उहाँले दार्चुलाको तिंकर सडक निर्माणमा महाकाली नदी तटबन्ध प्राथमिकतामा रहेको बताउनुभयो ।
सदरमुकामको प्रमुख समस्या महाकाली नदीको कटान रहेको बताउँदै उहाँले भन्नुभयो, “नदीको पानीको बहाव सर्दैमा सीमा सर्दैन ।” उहाँले आफ्नो कार्यकालमा दार्चुलामा तुइनहरूको स्थानमा झोलुङ्गे पुलहरू बनेको र दार्चुला –धारचुला मोटर पुल छिट्टै निर्माण सुरु गरिने पनि बताउनुभयो । खलंगामा भएको चुनावी तथा अभियान उद्घाटन गर्न हेलिकप्टरमार्फत दार्चुला पुग्नुभएका अध्यक्ष ओलीले दार्चुला खलङ्गास्थित स्वर्गीय नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो । अध्यक्ष ओलीले आजै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छ । यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुग्नुभएको थियो । ९ वर्षपछि पुनः ओली चुनावी सभाको लागि दार्चुला आउनुभएको हो ।