काठमाण्डाै – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ । आज सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गर्नुभयो । उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो । सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नकाे प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले त्यहीअनुसार काम गर्न पनि आयोगका सचिव दुवाडीले आग्रह गर्नुभयो । त्यस्तै उहाँले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने बताउनु भयो । उहाँले खेलकुद, पुरस्कार वितरणलगायतका कार्यक्रममा राजनीतिक आबद्धता देखाउन नहुने पनि उल्लेख गर्नुभयो ।
आयोगका सचिव दुवाडीले पालिकासँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गर्नुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र त्यही समितिअन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीलाई चुनावमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उहाँले त्यस्तो आरोपबाट मुक्त हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
Home प्रदेश कर्णाली प्रदेश चुनाव प्रचारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन