काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणा पत्रमा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । बैठकमा घोषणापत्र तयारी समितिले तयार पारेको प्रारम्भिक मस्यौदा पेश भएको र नेताहरूबाट विभिन्न सुझावहरू प्राप्त भएको नेपाली काँग्रेसका सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका प्रवक्ता जीवन परियारले जानकारी दिनुभयो ।
आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननरसिंह केसी लगायतले बोल्नुभएको र देशको आर्थिक विकास र सामाजिक न्यायलाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न सुझाव दिनुभएको समितिका प्रवक्ता परियारले बताउनुभयो । बैठकले पार्टीको घोषणा पत्रमा समेट्नुपर्ने विषयबारे कुनै सुझाव भए भोलि बेलुका ७ बजेसम्ममा लिखित रुपमा उपलब्ध गराउन आजको बैठकमा अनुपस्थित एवं काठमाडौँ उपत्यका बाहिर रहेका सदस्यहरूलाई आग्रह समेत गरेको छ ।