मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरिएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डाक्टर कृष्ण राज पन्तले प्रदेश सरकारका मुख्यमन्त्री पाण्डे समक्ष दस्तावेज हस्तान्तरण गर्नुभएको हो ।
प्रदेशको योजनावद्ध विकास मार्फत प्रदेशलाई समृद्ध बनाउन प्रदेश नीति तथा योजना आयोगको भूमिका महत्वपूर्ण हुने पक्षलाई मध्यनजर गर्दै प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगको संस्थागत सबलीकरण र कार्य सम्पादन सहजीकरणका निम्ति आवश्यक ऐनहरूको तर्जुमा तथा कार्यान्वयनको निम्ति व्यवस्था मिलाउन अनुरोध गर्दै दस्तावेजहरु हस्तान्तरण गरिएको हो । उक्त मस्यौदाहरु गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशका योजना आयोगहरूको बैठकद्वारा आवश्यक छलफल पश्चात पारित गरी तयार गरिएको थियो ।
प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरू र आयोगका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा सम्पन्न हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उक्त ऐन कानून तर्जुमा र कार्यान्वयनको निम्ति प्रभावकारी पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्रीलाई प्रदेश नीति तथा योजना आयोग ऐन, २०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन, २०७९, प्रदेश आयोजना बैंक दिग्दर्शन, २०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव सम्वन्धी मस्यौदाहरु बुझाइएको हो ।