मकवानपुर– मकवानपुर जिल्लाको आर्थिक वर्ष २०७८/०७९ को जिल्ला स्तरीय वार्षिक समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षता एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा समिक्षा कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुईटेलले स्वागत गर्नु भएको कार्यक्रममा स्थानीय तह, विभिन्न संघ संस्था एवम् व्यत्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा जिल्लामै उत्कृष्ट काम गरेको भन्दै थाहा नगरपालिकालाई सम्मान गरिएको छ । यस्तै हेटौंडाका समाजसेवी सिद्धीलाल श्रेष्ठ, महिला तर्फ बबीता बानियाँलाई सम्मान गरिएको छ ।
यस्तै सामुदायिक विद्यालयमा सञ्चालित ईसीडी तर्फ बकैया गाउँपालिकाको शंखरेश्वरी प्रावि, कर्मचारी तर्फ पनि बकैयाँ गाउँपालिकाका अनमी सर्मिला जिम्मा र भीमफेदी गाउँपालिकाका लेखापाल तोयानाथ तिवारी र जिल्ला समन्वय समिति मकवानपुरका कार्यालय सहयोगी सोममायाँ स्याङतानलाई सम्मान गरिएको थियो । यस्तै सहकारी तर्फ मकवानपुरगढी स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महिला मिलन बचत तथा ऋण सहकारी संस्था, कृषित तर्फ थाहा नगरपालिका स्थित झम्केश्वरी कृषि समुह पालुङ र हेटौंडा–१६ कि गीता कृषि फार्मकी सञ्चालक गीता रेग्मीलाई सम्मान गरिएको छ । यस्तै गैरसरकारी संस्था तर्फ सिवीन नेपाल, राडो नेपाल र माइती नेपाललाई सम्मान गरिएको निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेले बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेल, १० वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । जिल्ला समिक्षामा जिल्लाका १० वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले आर्थक वर्ष २०७८/०७९ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।