रुसले कब्जा गरेकाे खार्किभ क्षेत्रभित्रका ३० वटा ठाउँका दर्जनाैँ गाउँ फिर्ता ल्याएको युक्रेनले दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले खार्किभको एक हजार वर्ग किलोमिटर क्षेत्र फिर्ता गरेको र ५० किलोमिटर अघि बढेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
युक्रेनले अब रुसलाई अन्य क्षेत्र कब्जा गर्न नदिने र उसले कब्जा गरेको भूमि फिर्ता गर्ने अभियान चलाएको घोषणा गरेको छ । खार्किभमा अपेक्षा गरेभन्दा छिटो सफलता मिलेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ ।
समाचारको पुष्टि गर्न युक्रेनले पत्रकारलाई प्रवेश अनुमति दिएको छैन । सरकारी अधिकारीहरूले खार्किभमा युक्रेनी झण्डा फहराउँदै गाडी कुदेको र युक्रेनी सैनिकले खुसीयाली मनाएको भिडियो पाेस्ट गरेका छन् । युक्रेनी सेना एक रेलमार्गको नजिकै पुगेका छन्, रेलमार्ग कब्जा गर्न सकेमा रुसी सेनाको बन्दोबस्तीका सामान ढुवानी हुन नपाउने र उनीहरू थप समस्यामा पर्ने देखिएको खबरमा उल्लेख छ ।
अमेरिका र युरोपका सहयोगीले दिएका अत्याधुनिक हतियार तथा युक्रेनी सेनाको बढ्दो मनोबलका कारण ठाउँ–ठाउँबाट शत्रुलाई लखेट्न सफलता मिलेको युक्रेनी राष्ट्रपतिको भनाइ छ । तर रुसले भने पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा पुनः ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको छ । युक्रेनको दाबीलाई अस्वीकार गर्दै रुसले खार्किभमा आफ्नो सेनाको कब्जा यथावत् रहेको र थप सैनिक परिचालन गरिएको जनाएको खबरमा उल्लेख छ ।