हेटाैंडा बजार

हेटौंडा- हेटौंडामा बन्दको दिनमा सामान्य रुपमा गाडी चलेका छन् । अघिपछीका दिनमा जस्तो राजमार्ग र बजार क्षेत्रमा बाक्लो मात्रामा गाडी चलेका छैनन् । बजार क्षेत्रमा साना सवारीका साधनहरु चलेका छन् । राजमार्गमा चल्ने सवारीका साधनहरु भने त्यती चलेका छैनन् । लामो दुरीका सवारीका साधनहरुलाई पनि सुरक्षा दिएर गन्तव्यमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले बताउनुभयो । हेटौंडा बजार क्षेत्रका सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ ।
यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् । ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् । सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था,कलकारखाना बिहान देखि बन्द रहेका छन्। बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए। हेटौंडा हुदै अन्यत्र जाने लामो तथा छोटो दुरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन।