तापक्रम बढ्दा देशभर गर्मी बढेको छ । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । पानी नपर्दा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै बढेको छ । यसले गर्दा गर्मी बढाएको छ । हिजो दीपायल र भैरहवाको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३५ दशमलव १, सिमराको ३५, विराटनगरको ३४ दशमलव ९ डिग्री सेल्सियस, धरानको ३४ दशमलव ४, नेपालगञ्जको ३४ दशमलव ६ र वीरेन्द्रनगरको ३३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै, बिहान ६ बजेको मापन अनुसार काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस छ । हिजो १९ र अस्ति १८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम लगातारजसो बढिरहेकाले पनि बिहानैदेखि गर्मी महसुस भएको छ । यस्तै, आज काठमाण्डौको अधिकतम तापक्रम भने केही घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २९ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । हिजो ३० दशमलव ८ डिग्री सेल्सियस थियो भने अस्ति ३० दशमलव ७ डिग्री सेल्सियस थियो । आज दिउँसो पछि बादल लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम केही घट्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि ठूलो पानी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।