file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी गर्नुभएकाे छ । बुधवार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने तर्क गर्नुभयाे ।
अध्यक्ष ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी काम गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाउनुभयो । उहाँले माओवादी केन्द्र पार्टी नभइ प्रचण्ड एन्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘कांग्रेस अब कहीँ कतै लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्न अब बेकार छ । कांग्रेस प्रचण्डको कार्यकर्ता हो । कांग्रेस देश हितकाे विरुद्ध अनेक क्रियाकलाप गरेर आएको पार्टी हो । अनुभवबाट सिक्ला कि भनेको त कांग्रेस झन् झन् बिग्रँदै गएको छ । माओवादी पार्टी भने प्रचण्ड एन्ड कम्पनी हो । यसले कुनै पार्टीको रूप नै लिएको छैन । कांग्रेस प्रचण्ड एन्ड कम्पनीको पछिपछि त्यही नीतिमा लुरुलुरु हिँडिराखेको छ । त्यही व्यवहार र आचरणमा ।’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बरबाद पार्ने भएकाले आउँदाे चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने पटक–पटक दोहोर्‍याउनुभयो । यस्तै ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारूढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको गम्भीर महत्त्वको विधेयकलाई संसदबाहिरै बसेर सत्तारूढ गठबन्धनले यस्ताे निर्णय गरेको भन्दै ओलीले आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एक पटक विचार गरियाेस्, कमी–कमजोरी नरहोस् भनेर फिर्ता पठाउनु भएछ । संसदबाहिर बसेर गठबन्धनले जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गर्‍याे । पाखुरेहरूले पाखुराको भाषा बोलिसके– जस्ताको तस्तै पठाइदिने । यस्तो सरकार छ देशमा । यो संसदीय अभ्यास नै होइन । संसदमा कांग्रेस होला, माओवादी केन्द्र भन्ने होला । माधव नेपालको पार्टी होला । गठबन्धनको पार्टी होला नि संसदमा । विचार–विमर्श नगर्ने, सोझै पठाइदिने– जस्ताको तस्तै ।’