काठमाडाैं- १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ।

यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ। श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ।

सोमबार १५ स्वर्ण जितेको नेपालले मंगलबार थप आठ स्वर्ण पदक जितेको हो। नेपालले मंगलबार उसु, तेक्वान्दो र करातेमा दुई/दुई तथा एथ्लेटिक्स र ट्रायथलनतर्फ एक/एक स्वर्ण जितेको हो। तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ किलोमुनि तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितिन्। सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयद सिद्रा बटुलालाई ५०–१४ अङ्कले पराजित गर्दै स्वर्ण जितेकी हुन्।

यस्तै पुरुष ६८ किलोमुनीको तौलसमूहमा नेपालका वीरबहादुर महराले पाकिस्तानका मोहम्मद फाहिमलाई ४१–३६ अङ्कले हराए। यस्तै ५७ किलोमुनिको तौल समूहमा निमा गुरुङले रजत पदक प्राप्त गरिन्। उनी भारतकी कसिका मलिकसँग पराजित भइन्।

यस्तै उसुमा नेपालले दुई स्वर्ण जितेको छ। लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा सम्पन्न खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन्। थाउलोको चवाङक्वाङमा विजयले ९ दशमलव ४८ अङकसहित स्वर्ण जितेका हुन्। उक्त स्पर्धामा बङ्गलादेशले रजत तथा भारतले कास्य पदक जित्यो।

यस्तै महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलङ्काका खेलाडीलाई ९ दशमलव ४४ अङ्क जोड्दै स्वर्ण जितेकी हुन्। सो स्पर्धामा बङ्गलादेशले कास्य पदक प्राप्त गर्‍यो। यस्तै करातेको ६७ किलो कुमुतेतर्फ नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन्। उनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कले हराएका हुन्।

एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन्। उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव चार सेकेण्डमा पूरा गरिन्। उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। एथ्लेटिक्सकै पुरुष एक हजार पाँच सय मिटर दौडमा टङ्क कार्कीले कास्य पदक जिते।

पोखरमा सम्पन्न ट्रायथलनमा नेपालले एक स्वर्ण र दुई रजत पदक पाएको छ। ट्रायथलनअन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत प्राप्त गरे। महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पाइन्। यस्तै नेपालले महिला भलिबलमा रजत पदक प्राप्त गर्‍यो। नेपाल भारतसँग ३–२ सेटमा पराजित भई रजतमै सिमित रहेको हो।