प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृह मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । आगामी मङ्सिर ४ गते आइतबार हुने निर्वाचन भयरहित गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले उक्त निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर प्रस्ताव पेश गरेको हो ।
यो सङ्ख्या गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको भन्दा २० हजारले बढी हो । त्यसबेला एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । एक जना उच्च प्रहरी अधिकृतका अनुसार समानुपातिक निर्वाचनसमेत हुने भएकाले यस पटक साविक सङ्ख्यामा थप २० हजार म्यादी प्रहरी थप गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने सङ्ख्या यकीन हुन भने बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार मतदानस्थल परिवर्तन नभए पनि पहिलेभन्दा अहिले मतपेटिका दुई ठाउँमा रहने भएकाले पनि जनशक्ति थप आवश्यक हुन्छ र स्थानीय निर्वाचनभन्दा म्यादी प्रहरीको सङ्ख्या बढ्छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने उहाँको आकलन छ । त्यसका साथमा अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण एवं अपराधमा समेत प्रहरीको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो । यसअघि ४० दिनका लागि भर्ना भएको र अहिले पनि सोही अवधिका लागि म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै प्राथमिकता दिने पनि उहाँले जानकारी दिनुभयो ।











