मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य अरुण प्रसाद नेपालका तर्फबाट प्रदेशसभा सदस्य कृष्ण प्रसाद भुर्तेलले अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको हो ।
आजको बैठकमा प्रदेश सभा सदस्य भुर्तेलले प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम ६ बमोजिम मुख्यमन्त्री पौडेलमाथि प्रदेशसभाको विश्वास छैन भन्ने प्रस्ताव फिर्ता लिनुभएको हो । सभामुख सानु कुमार श्रेष्ठले मुख्यमन्त्री पौडेल बिरुद्ध गत माघ ९ गते प्रदेश सभामा दर्ता गराईएको अविश्वासको प्रस्ताव फिर्ता भएको घाेषणा गर्नुभयाे । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव, बजेटको वितरण र नीति तथा कार्यक्रमका विषयमा सदनमा उठेका प्रश्नको जवाफ समेत दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि आव्हान गरिएको छ ।