हेटौंडा । नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधिहरूले जनताको अपेक्षा बुझेर काम गर्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयोजित तथा स्थानीय तह विभागले संयोजनमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै जनताको कामलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पादन गर्न र पार्टीले निर्वाचनमा जारी गरेको घोषणापत्रलाई मार्गदर्शनको रूपमा लिनपर्ने बताउनु भयो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू समाजमा अब्बल रूपमा कामबाट स्थापित हुनुपर्ने र जनताको पीडा, समस्या र दुःखमा हरदम साथमा रहन नेता रानाले भेलामा आग्रह गर्नुभएको छ ।


आज प्रतिक्रयावादी र अवसरवादीहरूले नेकपा एमालेमाथी चौतर्फी घेराबन्दी गरेको बताउँदै जनप्रतिनिधिको क्रियाशिलता र व्यवस्थित संगठनको बलमा आगामी संसदीय निर्वाचनको नतिजाले नै उचित जवाफ दिनको लागि सबै चनाखो हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टी बाग्मती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले गठबन्धन सरकारले सत्ता टिकाउन विदेशीको खेल मैदान बनाउने षडयन्त्रलाई सहयोग गरेको ले राष्ट्रियता जोगाउन एमाले बलियो हुनुपर्ने बताउनु भयो । विकास र समृद्वि कामको नेतृत्व जनप्रतिनिधिहरू गर्दै जनतालाई राष्ट्रिय राजनीतिको बारे स्पष्ट पार्नुपर्ने बताउनु भयो । जिल्ला कमिटी सचिव नवीन सिग्देलले पार्टीले सञ्चालन गरेको ४५ दिने संगठन सुदृढीकरण र शुद्विकरण अभियानबारे प्रष्ट पार्नु भएको थियो भने कार्यक्रममा पार्टी जिल्ला उपसचिव तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले भेलाको महत्व र जनप्रतिनिधिको भूमिकाबारे प्रष्ट पार्नु भएको छ ।पार्टी जिल्ला उपाध्यक्ष तथा स्थानीय तह विभागका प्रमुख लालबहादुर थापाले सभाध्यक्षता गर्दै कार्यक्रममा समाजवादको आधार तयार गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउँदै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध नियमित अन्तरिक्रया र छलफल गर्दै सुदृढ गर्दै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । बाग्मति प्रदेश कमिटीका सदस्यहरू भगवती पुडासैनी, अर्जुन अर्याल ईन्द्रमान स्याङ्तान, भोजराज ढकाल, जिल्ला उपसचिव सीता बिष्ट, जिल्ला सचिवालय सदस्यहरू फूर्वादोर्जे लामा, अनिल बानियाँ, जुना दाहाल, दीपक खड्का, ईन्द्र सरोवर गाउँपालिका अध्यक्ष डिके पुडासैनी, उपाध्यक्ष उमा लामालगायत एमालेबाट निर्वाचित १० वटै पालिकाका वडा अध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको जिल्ला कमिटी उपसचिव सीता विष्टले बताउनु भयो ।