file photo

नारायणी नदीमा पानीको सतह बढ्दै गएसँगै त्रिवेणीधामस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको जनाइएको छ । नारायणीमा पानीको सतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रूपमा लिइन्छ। पानीको सतह अहिले सात दशमलव एक मिटर रहेको छ।
भारतले त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर सिँचाइका लागि पानी लैजाने गरेको छ । हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन्। आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको छ ।