राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज अपराह्न बसेको बैठकको निर्णयअनुसार ​​​​​​​गत वैशाखमा सञ्चालन भएको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
सार्वजनिक नतिजाअनुसार उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत रहेको परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् । त्यस्तै, एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएका छन् । गत ९ वैशाखदेखि सञ्चालन भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका ४ लाख ९५ हजार ७५१ जना परीक्षार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ । त्यस्तै, विभिन्न वेबसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेबसाइटमा जान सकिने बोर्डले जनाएको छ।