निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको आन्तरिक तयारी शुरु गरेको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन पछिल्ला निर्वाचनहरूको तुलनामा सबैभन्दा मितव्ययी निर्वाचन भएको र आगामी निर्वाचन पनि मितव्ययी ढंगले सम्पन्न गर्ने गरी आयोगले आन्तरिक तयारी शुरु गरेको जानकारी दिनुभयो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा आन्तरिक स्रोतबाट ५ अर्ब ४ करोड खर्च भएको र बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । निर्वाचनमा प्रति मतदान केन्द्र २ लाख २९ हजार ५७८ खर्च भएको थियो भने प्रति मतदाता २८४ खर्च भएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भएको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट र बाँकी रकम विकेन्द्रिकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयबाट खर्च भएको छ । आयोगका अनुसार नेपाल सरकारबाट निकासा भएको ८ अर्ब ११ करोड मध्ये ३ अर्ब ६ करोड नेपाल सरकारलाई फिर्ता गरिएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनमा सम्पूर्ण रुपमा बदर मत २.४ प्रतिशत रहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएकामा ६५ दलले निर्वाचनमा भाग लिएको र हाल २४ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।