सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणका लागि टनेल खन्ने मेशिन ल्याउन ढिलाई हुँदा काम प्रभावित भएको छ । आयोजनाले गत असार मसान्तसम्म टनेल वोरिङ मेशिन (टिविएम) आयोजना स्थलमा आइसक्ने बताए पनि ठेकेदार कम्पनी चाइना ओभरसिज कोवेकले मेशिन ल्याउन ढिलाई गरेको हो ।
आयोजना र ठेकेदार कम्पनीबीच भ्याट बाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा सन् २०२५ को अगष्ट भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, टनेल खन्ने मेशिन नै समयमा नआउँदा निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । सुनकोशीको पानी प्रति सेकेण्ड ६७ हजार लिटर प्रति सेकेण्ड पानीलाई १३ किलो मिटरसम्म सुरुङ मार्फत सिन्धुलीको मरिण क्षेत्रमा पुर्‍याएर सिंचाई गर्ने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।
मरिण क्षेत्रमा पुग्ने सुनकोशीको पानीलाई बागमती सिंचाई आयोजनाको नहरबाट सर्लाही, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लामा सिँचाइ सुविधा बढाइने छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गर्नुभएको थियो । आयोजना अन्तर्गत बाँधस्थलको टेण्डरको तयारी भैरहेको आयोजनाले जनाएको छ ।