गाउँपालिका राष्ट्रिय महासंघले करारका कर्मचारी नहटाउन आग्रह गरेको छ । विभिन्न स्थानीय तहले करारका कर्मचारी हटाइरहेको सन्दर्भमा महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै हचुवाका भरमा कर्मचारी नहटाउन सबै (४६०) गाउँपालिकालाई आग्रह गरेको हो ।
स्थानीय सरकारमा जनप्रतिनिधिहरुको पहिलो कार्यकाल शुरु हुँदै गर्दा अत्यन्तै न्यून संख्याका कर्मचारीबाट स्थानीय सरकार सञ्चालन गर्न बाध्य भएको स्मरण गर्दै महासंघले पहिलो कार्यकालका स्थानीय सरकारले कार्यसम्पादन गरेको कठिन दिनहरुलाई मनन गर्नै पर्ने उल्लेख गरेको छ । ‘स्वीकृत दरबन्दी भित्र विद्यमान कानुनबमोजिम प्रकृया सम्मत नियुक्ति भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागिसमेत अवसर हो , ती कर्मचारीको अनुभव र क्षमता अभिवृद्धिका लागि राज्यको लगानी परिसकेको छ’, महासंघको विज्ञप्तिमा भनिएको छ ।
हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरुको कार्यक्षमताको कुनै मूल्याङ्कन नगरी एकमुस्ट रुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त नहुने महासंघको भनाइ छ । यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमा समेत प्रभावकारिता नआउने विज्ञप्तिमा उल्लेख छ । ‘तसर्थ, स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका अनुभवी जनशक्तिहरूलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुन उपयुक्तदेखि सबै गाउँपालिकाहरुको ध्यानाकर्षण गर्दै सबैमा हार्दिक अनुरोध गर्दछौं’ महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

No photo description available.