नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ । आज शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो ।
उहाँले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो । मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैंकबाट चार करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ । अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ । २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ । मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्थासमेत खारेज गरिएको छ ।