मकवानपुर – मकवानपुर जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् । मकवानपुरको १० स्थानीय तहहरुमा कुल ५५१ जना जनप्रतिनिधिहरु मध्ये हालसम्म १५० जनाले मात्रै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था भएपनि जिल्लाका अधिकांश निर्वाचित जनप्रतिनिधिहरूले खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार ४०१ जनप्रतिनीधिहरुले अझै चुनावमा भएको खर्चको विवरण बुझाएका छैनन् । कार्यालयका अनुसार हालसम्म हेटौंडा उपमहानगरपलिकाका ५५ जना, राक्सिराङ गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ६ जना र मकवानपुरगढी गाउँपालिकाका १३ जना मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका ३० जना, थाहा नगरपालिकाका २२ जना र बकैया गाउँपालिकाका ६ जना जनप्रतिनिधिहरुले खर्च विवरण पेश गरेका छन् । भने, जिल्लाको इन्द्रसरोबर गाउँपालिकाका भने कुनै पनि जनप्रतिनिधिले चुनावी खर्च विवरण पेश गरेका छैनन् ।