संसदीय छानबिन विशेष समितिले भाेलि बिहीवार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको आज बुधवार बसेको बैठकले सोधपुछका लागि उहाँलाई बोलाउने भएको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताउनुभयो । सचिव अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताउनुभयो । उहाँले समितिको म्याद थप गर्ने विषयमा छलफल भए पनि दिन किटान नगरिएको बताउनुभयो । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि सात दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने सङ्केत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ ।