मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ । मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन । मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ ।
पछिल्लो २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस छ । नेपालगञ्जको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २७ दशमलव ८ डिग्री सेल्सियस छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव २, जनकपुरको ३५ दशमलव ८ डिग्री सेल्सियस छ। काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ । आज, भोलि र पर्सि मौसम यस्तै रहने तर पर्सि रातिदेखि भने पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सिरातिदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।