हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ । उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकबाट नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सर्वसम्मतले पारित भएको हो ।
उपमहानगरपालिकाले यही असार १३ गतेको नगरसभामा उपमेयर राजेश बानियाँले नीति तथा कार्यक्रम र सो कार्यान्वयनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमा पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवातथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाकालागि ३ करोड ५८ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख र विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँडबाट ५८ करोड ९३ लाख, प्रदेश विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकार अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख, अन्य आय र संघ संस्थातर्फ १ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरू तथा नयाँ योजनाहरू पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताउनुभयो ।
त्यस्तै आजको नगरसभाले न्यायीक समितिसहित अन्य ६ वटा बिभीन्न समितिहरु गठन गरेको छ । नगरसभाले उपमेयर राजेश बानीयाँ संयोजक तथा ५ नम्बर वडा सदस्य ज्ञानबहादुर थापा र ७ नम्बर वडा सदस्य सन्तु पाख्रिन सदस्य रहने गरि न्यायिक समिति गठन गरेको छ । यस्तै १८ नम्बर वडा अध्यक्ष संयोजक रहने गरि आर्थिक विकास समिति, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला संयोजक रहने गरि सामाजिक विकास समिति, १४ नम्बर वडा अध्यक्ष दिपक खड्का संयोजक रहने गरि पूर्वाधार विकास समिति, १० नम्बर वडा अध्यक्ष संयोजक रहने गरि वातावरण तथाविपद् व्यवस्थापन समिति र १५ नम्बर वडा अध्यक्ष संयोजक रहने गरि संस्थागत विकास र सुशासन समिति गठन गरेको छ । यस्तै सभाले वृत्ति विकास सम्बन्धी विशेष ऐन, २०७५ खारेज गरी नयाँ कानून तर्जुमा गर्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाले बजेट पारति गर्नुपुर्व प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरूलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।
यसअघि हेटौंडा उपहानगरपालिकाको गत असार २० गते बसेको पाँचौं कार्यपालिका बैठकले गरेका विभिन्न निर्णय समेत आजको नगरसभाले अनुमोदन गरेको छ । जग्गा वर्गीकरण कार्यदल गठन गर्ने,
सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिने, साविक गाविसमा समायोजन भएको वडाहरुमा अधिकारसहित अधिकृत र लेखापाल खटाउने, नगरका सामुदायिक विद्यालयमा रिक्त रहेका स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्ति गर्न उपमहानगरपालिकाको तर्फबाट शिक्षकको रोष्टर सूची तर्जुमा गर्ने, नगरका स्वास्थ्य संस्थाबाट बीमा सुविधा समेतमा सहजीकरण गर्ने गरी आधारभूत अस्पताल सञ्चालन गर्न दुई जना डाक्टर (आठौं तह) नियुक्ति गरी परिचालन गर्ने र वृत्तिविकास सम्बन्धी विशेष ऐन, २०७५ खारेज गरी नयाँ कानून तर्जुमा गर्ने निर्णय गरेको थियो ।