मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेको विदाई गरेको छ । बिहीबार कार्यायमा एक कार्यक्रमको आयोजना गरेर जिसस मकवानपुरका प्रमुख, उपप्रमुख, सदस्यहरुलगायत जिससका कर्मचारीहरुले प्रजिअ पाण्डेलाई विदाई गर्नु भएको हो ।
जिसस प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, सदस्यहरु खड्ग बहादुर पुलामी, तारा ढुंगाना, समन्वय अधिकारी आनन्दराज पोखरेलले प्रजिअ पाण्डेलाई मायाको चिनोसहित विदाई गर्नुभएको हो । सो अवसरमा प्रमुख घलानले आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । यस्तै प्रजिअ पाण्डेले करीब सांढे १४ महिना मकवानपुर बसाई सौहार्दपूर्ण रहेको र सधैं मकवानपुरलाई सम्झने प्रतिकृया दिनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा काजमा सरुवा भएको छ । उहाँको स्थानमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रजिअका रुपमा गृह मन्त्रालयबाट राजेन्द्र देव पाण्डे आउन लाग्नु भएको छ ।