file photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताउनु भएकाे छ । पार्टी कार्यालयमा पत्रकारले मन्त्रीहरुले फिर्ता हुन नमानेको बारेमा सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भन्नुभयाे, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उहाँनले भन्नुभयाे , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’
एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । तर पार्टीको यो निर्णय कार्यान्वयन भएको छैन र मन्त्री फेर्ने भनेपछि विवाद बढेको छ । १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् ।
नेता पाण्डेले बजेटबारे छलफल चलिरहेको बेला मन्त्री फेर्ने भनी गरेको निर्णय अपरिपक्क भएकाले सामान्य विवाद आएको बताउनुभयाे । मन्त्रीबाट फिर्ता गरे पार्टी छाड्छौं भनेर चेतावनी दिएको छन् नि भन्ने प्रश्नमा पाण्डेले भन्नुभयाे, ‘उहाँहरूले पार्टी छोड्न सक्नुहुन्न अहिले । छोड्ने ताकत छैन । छोड्न नपर्ने भएकाले छोड्दिउँ-छोड्दिउँ भन्या मात्रै हो ।’
अनलाइनखबरबाट