प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो ।
आजको प्रतिनिधि सभा बैठकको सुरुमा नै एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभयो । सांसद पाण्डेले अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनुभयो । उहाँले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छाबिन हुनुपर्ने बताउनुभयो । सांसद पाण्डेले यस विषयमा संसद्ले पनि कदम चाल्नुपर्ने बताउनुभयो । सांसद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराउनु भएको छ ।
यस्तै, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा अर्थमन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गर्नु भएको छ । भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउन माग गर्नु भएको हो । बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करको दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको उहाँको भनाइ छ ।