आइतबार बिहान रुपन्देहीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल,रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र ४० वर्षको भारतीय नागरिक अरबिन्द्र शर्मा रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस आइतबार बिहान साढे ४ बजे भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सिमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताउनुभयो । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर र ८ जनाको अवस्था भने मध्यम रहेको उहाँले बताउनुभयो ।