देशका केही ठाउँमा बिहानै हावाहुरीसहित पानी परेको छ । बिहान सबेरै हावाहुरी र मेघगर्जनसहित वर्षा भएको हो । अहिले भने पानी पर्न रोकिएको छ । तर, दिउँसाे पनि मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ भने केही ठाउँमा मध्यम खालको वर्षा समेत हुनसक्छ ।
यस्तै, चट्याङ्ग र हावाहुरी समेत पर्ने भएकाले घरबाहिर निस्कँदै गर्दा सावधानी अपनाउन उहाँको आग्रह छ । घर बाहिर निस्किँदा छाता, प्लास्टिक, वर्षादीलगायत ओत बोक्न पनि मौसमविद्को सुझाव छ । आज विशेषगरी प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव परेको छ । यस्तै, आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको छ ।