काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालनको जिम्मेवारी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालनको जिम्मेवारी तोकेको हो ।
बैठकले अध्यक्षद्वयको वरियतालाई कायमै राख्दै प्रतिनिधीसभाको यस कार्यकाल भर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको नेतृत्व गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले पार्टी र सरकारकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने र पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र पार्टी कमिटीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को पुर्नगठन हुने तर त्यसको घोषणा प्रधानमन्त्री ओलीले चाँडै घोषणा गर्नुहुने जानकारी दिनुभयो ।