शैक्षिक सत्र २०७९ मा ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९, लामसुरेस्थित कृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलले शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरेको छ । शनिबार अतिरिक्त कार्यक्रमसहित विद्यालयमा अभिभावकको उपस्थितिमा नतीजा सार्वजनिक गरेको हो ।
नतीजा सार्वजनिकसँगै विद्यालयले कक्षागत उत्कृष्ट ५ जना र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका १० जनाका दरले विद्यार्थीलाई मेडलसहित सम्मान गरेको छ । नतीजा सार्वजनिक गर्ने अवसरमा विद्यार्थी, अभिभावक, स्थानीय समुदाय समेत सहभागी हुन पाउने गरी स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो । अभिभावक स्वस्थ भएमा मात्र विद्यार्थी स्वस्थ रहन सक्ने र शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने निष्कर्षका साथ शिविर आयोजना गरिएको विद्यालयका प्रिन्सीपल नवीन केसीले जानकारी दिनुभयो । केसीका अनुसार विद्यालयले समुदायमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा अभिभावकलाई समेत सचेत तुल्याउन यस्ता अतिरिक्त कार्यक्रम आयोजना गरिएको हो । शैक्षिक सत्र २०७९ मा हरेक महिना विभिन्न स्वास्थ्यसम्बन्धी शिविरको आयोजना गर्ने पनि प्रिन्सीपल केसीले जानकारी दिनुभएको छ । विद्यालयले समुदायमा शिक्षा र स्वास्थयलाई सबल बनाउन सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।
यसैबीच विद्यालयले शैक्षिक सत्र २०७९ मा ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने प्रदान गर्ने जनाएको छ । नयाँ शैक्षिकसत्रको भर्नासँगै छात्रवृत्ति परीक्षा लिई ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने केसीले जानकारी दिनुभयो । छात्रवृत्ति कार्यक्रममा विद्यालयमा अध्ययनरत र नयाँ भर्ना हुन आउने दुवै विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिने उहाँले बताउनुभयो । आगामी जेठ ७ गते शनिबार प्रवेश परीक्षा सञ्चालन गरिने साथै प्रवेश परीक्षामा १०० पूर्णाङ्कको वस्तुगत प्रश्न सोधिने उहाँले बताउनुभयो । परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुने र ५ कक्षादेखि ९ कक्षासम्मका ७५ जना विद्यार्थीलाई कुल शैक्षिक शूल्क मध्ये ९५ प्रतिशत शैक्षिक शूल्क छात्रवृत्तिस्वरुप छुट गरिने विद्यालयले जनाएको छ । विद्यालयमा करीब ६ सय विद्यार्थी अध्यनरत रहेका छन् ।