मकवानपुर – देशभरी भोलि चैत्र २५ गतेबाट सुरु हुने टाईफाईड बिरुद्धको राष्ट्रिय खोप अभियानको मकवानपुरमा सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला स्तरीय खोप समन्वय समिति मकवानपुरले आज हेटौंडामा पत्रकार सम्मेलन गरेर अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पुरा भएको जनाईएको छ । जिल्लामा भोलि चैत्र २५ गते शुक्रबार देखी दुई चरणमा टाईफाईड बिरुद्धको खोप अभियान सुरु हुने बताईएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला खोप फोकल पर्सन बाशुदेब रिमालले मकवानपुरमा ९ पालिकामा चैत्र २५ देखी बैसाख ६ गते र बकैया गाँउपालिकामा बैसाख ५ गते देखी ९ गते सम्म खोप अभियान सुरुवात गर्ने जानकारी दिनुभयो । रिमालका अनुसार मकवानपुरमा ६ सय ८ खोप केन्द्र, ८ सय ७० कोप कार्यकर्ता, १ हजार ३ सय ९० जना स्वयमसेक परिचालन भएका छन् । यस्तै जिल्लामा कुल १ लाख ८ हजार ४८६ जना बालबालिकामा खोप लगाईने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा संयोजक खुलालले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सबैमा आग्रह गर्नुभयो । अभियानमा कोही पनि बालबालिका खोप लगाउनबाट बञ्चित हन नहुने भन्दै उहाँले सबैलाई अभियान सफल बनाउन आग्रह गर्नुभयो । यस अघि आजै जिल्ला स्तरीय खोप समन्वय समितिले टाईफाईट बिरुद्ध खोप अभियान तथा नियमित खोप कार्यक्रम सफल बनाउने सन्दर्भमा सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रम आगोजना गरेको थियो ।