मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिकाले श्री कृष्ण माध्यमिक विद्यालयलाई ‘स्कूल बस’ हस्तान्तरण गरेको छ । पालिकाको वडा नम्बर २ भैसेमा रहेको उक्त विद्यालयलाई पालिका कार्यालय भिमफेदीमा एक कार्यक्रमको आयोजना गरी ‘स्कूल बस’ हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हिदम लामाले विद्यालयका प्रधानाध्यापक कृष्णलाल श्रेष्ठलाई बसको चाबी हस्तान्तरण गर्नु भएकाे हाे । बस हस्तान्तरण गर्दै ‘स्कूल बस’ को प्रयोगबाट बालबालिकाको शिक्षामा पहुँच बढेको पालिका अध्यक्ष लामाले प्रतिक्रिया दिनुभयाे । यसअघि पनि एउटा ‘स्कूल बस’ संचालन गरिरहेको उक्त विद्यालयकाे क्षेत्र विस्तार भएसंगै थप ‘स्कूल बस’ सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । १०-१५ किलोमिटर बाटो हिडेर बालबालिकाहरु आउन पर्ने हुनाले, उनिहरुको पहुचबाट शिक्षा टाढा नहोस् भन्ने उद्धेशले थप अर्काे बस हस्तान्तरण गरिएको अध्यक्ष लामाले बताउनुभयाे । ५ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा २ सय भन्दा बढि विद्यार्थी यातायात सुविधा विना सहजै विद्यालयको पहुँचमा आउन नसक्ने अवस्थामा रहेको विद्यालयले जनाएको छ । पालिकाको आर्थिक वर्ष २०७/०७९ को वार्षिक स्वीकृत २८ लाख बजेटबाट ‘स्कूल बस’ खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमलाल मजर्जनले बताउनुभयाे । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, भीमफेदी गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।