कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथ अहिले विवादमा तानिएका छन् । विवाद तत्कालै सकिने छाँटकाट छैन बरु लम्बिने देखिएको छ । घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले पनि कथा यत्तिकैमा अन्त्य नहुने बताइसकेको छ ।
एकडेमीले स्मिथविरुद्ध अनुशासन कारबाहीको प्रक्रिया सुरु हुने बताएको छ भने थप्पड खाएका क्रिस रकले पनि कानुनी उपचारमा अघि बढ्ने बताइसकेका छन् । यस्तोमा हलिउड उद्योगबाट समेत स्मिथविरुद्ध दबाब बढ्न थालेको छ । नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म ‘फास्ट एण्ड लुज’बाट अभिनेता स्मिथलाई हटाइएको छ । ओस्कारको थप्पड प्रकरणले चर्को रुप लिंदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको हो । उक्त फिल्मलाई डेभिड लिचले निर्देशन गर्दै थिए ।