हेटौंडा–कार्यकालको अन्तिमतिर आउँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वघोषणा गरेका छन् । शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको बैठकले आफूहरु अब आआफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् । सरकारले आगामी वैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै दलहरुमा निर्वाचनको चटारो सुरु भइसकेको छ ।

May be an image of 7 people, flower and nature

‘हामीले राजीनामै दिएर पनि चुनावमा होमिन सक्थ्यौं तर, त्यसो गर्दा जनताको काम प्रभावित हुने देखिएकाले कार्यालयबाट हुने जनताको काम चाहिँ गर्ने तर, सरकारी सुविधा चाहिँ त्याग गर्ने निष्कर्षमा पुगेका छौं ।’ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने । –‘अर्को पटक पनि पार्टीले टिकट दिएमा र जनताले पत्याएमा पुनः गाउँपालिकाको काम कारबाही सम्हाल्न हामीमध्ये धेरै पुनः दोहोरिन सक्छौं । अहिलेलाई सबै सुविधा त्यागेर उच्च नैतिकता प्रस्तुत गरेका छौं ।’ करिब पाँच वर्षसम्म सँगै यात्रा गर्दा कार्यापालिका सदस्यहरुबाट धेरै सहयोग प्राप्त भएको र आफूहरुले सोचेभन्दा धेरै काम गर्न सफल भएको पनि अध्यक्ष मल्लले स्मरण गरे । ‘हामी फरक फरक पार्टीबाट निर्वाचित भएर आएका थियौं । फरक पार्टी र फरक विचार हुँदा काम गर्न अप्ठेरो भएका अन्य स्थानीय तहका धेरै उदाहरण छन् तर, हाम्रोमा कुनै दिन पनि त्यस्तो विवाद भएन । जनताको काममा हामी एक मन भएर लाग्यौं ।’ अध्यक्ष मल्लले भने । उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबै क्षेत्रका व्यक्तित्व र संघसंस्थाहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरे ।

No description available.

बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत देवचन्द्र गर्तौलाले जनप्रतिनिधिहरुलाई बिदाई गर्दै आगामी निर्वाचनबाट जोसुकै निर्वाचित भएर आएता पनि कानुन, विधि र प्रक्रियामा रहेर आफूहरु सहयोग गर्न तयार रहेको बताए ।