भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको थियो । साथै उहाँहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउने बारेमा पनि छलफल गर्नुभएको थियो ।
दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचार विमर्श गर्नुभएको थियो । नेपाल र भारतबीचको शताब्दी औँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ । बहुपक्षीय सहयोग र साझेदारी प्रवर्द्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ । त्यसअघि द्विपक्षीय भेटका लागि प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई हैदरावाद हाउसमा स्वागत गर्नुभएको थियो ।