निजी क्षेत्रका मूख्य तीन वटा छाता संगठनले उद्योगहरुमा विद्युत् कटौती नगर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा विज्ञप्ति निकालेर विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरू पछिल्लो समयको अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेको बताएका छन् ।
विद्युत् आपूर्ति अनियमित हुँदा बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङ लगायतका औद्योगिक करिडोरका उद्योगहरू सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको निजी क्षेत्रको भनाई छ । विद्युतमा देखिएको ट्रिपिङ, कम भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, बैंकको चर्को ब्याज र साँवा भुक्तानीमा समस्या पर्न गएकोतर्फ निजी क्षेत्रलेसरकार र विद्युत् प्राधिकरणको ध्यानाकर्षण पनि गराएको छ ।