मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मंगलबार जिल्लाको भीफेदी गाउँपालिकाको अनुगमन गरेको छ । नियमित अनुगमनका क्रममा गाउँपालिकाको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको मंगलबार अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, गाउँपालिकामा आइपरेका समस्या तथा चुनौतिलगायत विषयमा जानकारी लिएको थियो । अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्बति राना, प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जन लगायतले हालसम्मको प्रगतिको अवस्था र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा गाउँपालिकामा कुल ३३५ योजनाहरु मध्ये हालसम्म २८७ वटा सम्झौता भईसकेको र १३५ वटा सम्पन्न भईसकेको जनाईएको छ । यस्तै चालु आर्थिक वर्षमा चालु तर्फ ४२ प्रतिशत र पूँजीगत तर्फ २८.७ प्रतिशत गरि जम्मा ३५ प्रतिशत बजेट खर्च भएको जनाएको छ । यस्तै गाउँपालिकाले २ करोड ४३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म एक करोड भन्दा माथि संकलन भईसकेको समेत जनाईएको छ । समग्रमा गाउँपालिकाको प्रगति संतोषजनक रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महर्जनले जानकारी दिनुभयो । अनुगमनका क्रममा उहाँहरुले विषेश गरि प्रदेश सरकारले स्थानीय तहसंग समन्वय नगर्दा समस्या भएको बताउनुभयो । एउटै समन्वय नगरिकन प्रकृतिका कार्यक्रममा प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दा कार्य सम्पादनमा समस्या भएको उहाँहरुले बताउनुभयो । यस्तै अत्याधिक मुल्यबृद्धिका कारण उपभोक्ता समिति मार्फत सम्पन्न गर्नुपर्ने कामहरुमा समस्या भएको भन्दै यसमा सहजिकरणका लागि अनुरोध गर्नुभयो ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पाेखरेल, लेखापाल दिपिका खनाल, गाउँपालिकाका अधिकृत बद्रीप्रसाद सापकोटा, लेखा अधिकृत करुणा रिसाललगायतको सहभागिता थियो । सो क्रममा उहाँहरुले गाउँपालिकाले निर्माण गर्न लागेको अस्पतालको समेत स्थलगत निरिक्षण गर्नुभउको थियो ।











