मकवानपुर – बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सय दिनमा गरेको कामको विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर मन्त्रालय स्थापना भएदेखि हाल सम्मको एक सय दिनको विवरण सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले यातायात क्षेत्र प्रदेश सरकारको राजश्वको मुख्य श्रोत रहेको बताउदैं चालु आर्थिक वर्षमा १० अर्व ८५ करोड राजस्व लक्ष्य रहेकोमा हाल सम्म ७ अर्व १२ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको बताउनुभयो । प्रदेशको सबै भन्दा धेरै राजस्व संकलन हुने क्षेत्र यातायात हो । यस्तै उहाँले प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अहिले २ लाख १५ हजार ६ सय जनाले आवेदन दिएको र अहिलेकै गतिमा प्रक्रिया अघि बढाउने हो भने सन् २०२४ मा मात्रै उनीहरुको पालो आईपुग्ने बताउनुभयो । उहाँले प्रदेशको यातायात व्यस्थापना र समस्या समाधानका लागि विभिन्न प्रयासहरु भएको समेत जानकारी दिनुभयो ।