काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मतदाता परिचय पत्र, मतदाता नामावली लगायतका सामग्री छपाइको प्रक्रिया अगाडि बढाएको छ । आयोगले आज काठमाडौँमा गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बोलपत्र स्वीकृत भएको जानकारी दिनुभयो ।
यस्तै आयोगले निर्वाचनको प्रचार–प्रसार तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री तयारीका लागि विभिन्न ४ वटा समूहमा फर्म संस्थाहरू सूचिकृतका लागि सूचना गरेको सह–प्रवक्ता अर्यालले बताउनुभयो । यसैगरी आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल र अन्तरक्रियाको कार्यक्रम पनि अगाडि बढाएको छ । आयोगले हिजो देखि सरोकारवालाहरूसँगको छलफल सुरु गरेको र सातै प्रदेशका केन्द्र तथा विभिन्न जिल्ला सदरमुकामहरूमा अन्तरक्रिया कार्यक्रमहरू आयोजना हुने आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।