काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।
ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् । सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ । सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी छ । अनलाइनखबरबाट