file photo

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका विरुद्धमा परेको रिट निवेदनहरूको सुनुवाइ सुरु भएको छ । संवैधानिक इजलासले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धको सो रिटमाथिको सुनवाइ गत शुक्रवार हेर्दाहेर्दैमा राखेको थियो । आजका लागि पेशी तोकिएको सो रिट निवेदनमा संवैधानिक इजलासले दुवै पक्षलाई एक÷एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले थप आधा÷आधा घण्टा समय पाउनेछन् । सर्वोच्च अदालतले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ ।
गत भदौ १७ मा न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।सो अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका रिट निवेदनहरूमा सुनुवाइ अघि बढ्न सकेको थिएन । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलासले संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका रिट निवेदनसँग सम्बन्धित रिट निवेदनमा एकसाथ सुनुवाइ अघि बढाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत गरिएको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो ।