हेटाैंडा – श्रीलङ्का नेभीसंगको दोस्रो अभ्यास खेलमा पनि नेपाली क्रिकेट टोली विजयी भएको छ । कोलम्बोमा आज मङ्गलवार भएको खेलमा नेपालले श्रीलङ्का नेभीलाई ८१ रनले हराएको हो ।
नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभीले ३० ओभर पाँच बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पवन सरार्फले ३, दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले एकरएक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १र१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे ।
हिजो सोमवार भएको खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । यूएईमा हुने विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ ।