‘बाहुबली’ फिल्मको सफलतापछि अब निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ । नेपाली बक्स अफिसमा समेत ‘बाहुबली’का अघिल्ला दुवै शृंखलाले सर्वाधिक कमाइको मानक बनाएका थिए । फिल्मको पहिलो भागले नेपालमा २५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको वितरकको हिसाब छ ।
दोस्रो सिरिजले समेत राम्रो कमाइ गरेको थियो । निर्देशक राजामौली र अभिनेता प्रभासले तेस्रो सिरिज निर्माणमा सहकार्य गर्नेबारेका समाचारलाई दक्षिण भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन् । यो खबरको संकेत स्वयं अभिनेता प्रभासले दिएका हुन् । ‘बागी’ स्टार प्रभास अहिले पछिल्लो फिल्म ‘राधेश्याम’को व्यावसायिक प्रवद्र्धनमा व्यस्त छन् । फिल्मको ट्रेलर लन्चमा उनले मिडियासँग यसबारे कुरा गरेका छन् । सोही क्रममा सञ्चारकर्मीहरुले निर्देशक राजामौलीसँग मिलेर प्रभासले बाहुबलीको तेस्रो शृंखला बन्न लागेको विषयमा प्रश्न गरेका थिए ।