विश्वभरि प्रयोग हुँदै आएको प्लास्टिकमध्ये झण्डै नौ प्रतिशत मात्रै पुनः प्रयोग भएको पाइएको छ । आर्थिक तथा विकास सहकार्य संगठन ओइसीडीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विश्वभरि सन् २०१९ मा चार सय ६० मिलियन टन प्लास्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रयोगमा आएकोमध्ये १९ प्रतिशत प्लास्टिक जलाउने गरेको पाइएको छ । अरु ५० प्रतिशतभन्दा धेरै प्लास्टिक माटो र पानीमा मिसिने गरेको छ । विश्वभरी प्लास्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो वर्षको तुलनामा २ दशमलव २ प्रतिशतले घटेको छ । अनुसन्धानकर्ताले प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तन सरह रहेको निश्कर्षसहित उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्नेमा जोड दिँदै आएका छन् ।