काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सात महिनामा नेपालको व्यापार घाटा १० अर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको विदेशी वस्तु नेपाल आयात भएको छ भने नेपालबाट जम्मा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । सात महिनामा आयात ४२ दशमलव ७८ प्रतिशतले र ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यात वृद्धि भएको हो ।
तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको आयात गरेकाे छ । नेपालले भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा बेहाेरेकाे छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ । सात महिनामा नेपालले ५० अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । यस्तै २४ अर्ब रुपैयाँको तरकारी, १३ अर्ब रुपैयाँको फलफूल, १६ अर्ब रुपैयाँमा घिउतेल, साढे पाँच अर्ब रुपैयाँको चिया–कफी र साढे पाँच अर्ब रुपैयाँकै चिनी र चिनीबाट बनेका वस्तु आयात भएको छ । १६ अर्ब ८३ करोड रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ आयात भएको छ ।