मकवानपुर – भेडा ब्राखामा देखा परेको हैजा अर्थात् पिपिआर रोग रोकथामका लागि सञ्चालित निःशुल्क खोप अभियान अन्तरगत बागमती प्रदेशमा मङ्गलवारसम्म ८ लाख बढी भेडा बाख्रामा खोप लगाइएको छ । माघ २५ गतेबाट सञ्चालित सप्ताहव्यापी खोप अभियान अन्तरगत आजसम्म ८ लाख ३० हजार १८७ वटा भेडा बाख्रामा खोप लगाइएको प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक डाक्टर रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।

प्रधानका अनुसार खोप अभियान अन्तरगत मङ्गलवारसम्ममा ८ हजार ६९८ वटा भेडा र ८ लाख २१ हजार ४८९ वटा बाख्रामा खोप लगाइएको छ । पहिलो चरणमा मकवानपुरमा सबैभन्दा धेरै खोप लगाइएको उहाँले बताउनुभयो । मकवानपुरमा एक लाख ६६ हजार ४२३ वटा बाख्राहरूमा खोप लगाइएको थियो भने नुवाकोटमा १ लाख २० हजार १९ वटा भेडा बाख्रामा खोप लगाइएको उहाँले बताउनुभयो ।
यस्तै सबैभन्दा कम भक्तपुरमा ६ हजार १८१, काभ्रेमा ९९ हजार १८२, ललितपुरमा २७ हजार ५८७, काठमाडौँमा ३१ हजार ५५७, दोलखामा ९४ हजार ९९८, सिन्धुपाल्चोकमा १५ हजार ९५२, सिन्धुलीमा ४५ हजार ८२५, रामेछापमा ४४ हजार ६१०, चितवनमा ७१ हजार ४१८, रसुवामा २३ हजार १६५ र धादिङमा ८३ हजार २७० वटा भेडा बाख्रालाई खोप लगाइएको छ ।प्रदेशका स्थानीय तहका सबै वडाहरूमा खोप भ्याक्सिनेटर र खोप केन्द्र सञ्चालन गरी पहिलो पटक प्रदेश सरकारले खोप अभियान सञ्चालन गरेको हो ।
पहिलो चरणमा एक करोड १९ लाख बजेटबाट ११ लाख ९० हजार खोपको मात्रा खरिद गरी खोप अभियान सुरु गरिएको हो । प्रदेशमा भेडाको सङ्ख्या ९३ हजार ६३९ र बाख्राको सङ्ख्या २३ लाख ५१ हजार २१७ रहेको छ । पहिलो चरणका लागि ११ लाख ९० हजार खोपको मात्रा भएता पनि एक सातामा ८ लाख ३० हजार १८७ मात्रा प्रयोग गरिएको छ । भेडा बाख्रामा पीपीआर खोप एकचोटी लगाएपछि तीन वर्ष लगाउन नपर्ने उहाँले बताउनुभयो ।