मकवानपुर- प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले छठ पर्व कुनै जाती र सम्प्रदाय विशेषको मात्र नभई सबै नेपालीको साझा पर्व भउको बताउनुभएको छ । हेटौडाको राप्ति तटमा आयोजित छठ पूजाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब छठ पर्व मधेशको मात्र पर्व नभएर समस्त नेपालीको साझा पर्व भएको बताउनुभएको हो ।

संविधानमा सबै चाडपर्वलाई समान हैसियत प्रदान गरेकोले अब सबैखाले पर्ब साझा पर्व भएको मुख्यमनत्री पौडेलको भनाई थियो । उहाँले छठ पर्वले सबै समुदायका मानिसहरुमा मानविय भाव र सद्भाव बढाउँदै गएको भन्दै यसले तराई र पहाडबीच आपसी सद्भाव तथा भातृत्व बढाउने काम गरेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले छठीमाता र सुर्यको पुजा आराधाना समेत गर्नुभएको थियो । सूर्यको पुजा गरेर मनाइने छठ पर्वका लागि हेटौंडाको राप्तिखोलामा ६ सय फिटको पण्डाल हालिएको छठ पर्व मुल समारोह समितिका सचिब नन्दलाल दासले बताउनुभयो । छठपर्वमा ५० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको दासले बताउनुभयो । पछिल्लो समय तराई जस्तै पहाडमा छठ मनाउनेको संख्या बृद्धि हुँदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ । मानव सभ्यताको विकास नदी किनारबाट भएको र यसको जगेर्ना गर्ने मानिएको सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश छठ पर्वले दिने जनविश्वास छ ।