मकवानपुर – जिल्ला अदालत मकवानपुरले तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी (नाम परिवर्तन) को हत्यामा संलग्न ३ जनालाई आजिवन कैदको फैसला गरेको हो । हत्यामा संलग्नमध्ये अन्य एक जना नावालकलाई १६ वर्ष कैद, एकजनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवनाको फैसला सुनाएको हो ।
जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार अमृत घिमिरेले आरोपित चारजनाबाट हत्या भएकी तेस्रो लिङ्गीकाको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको बताउनुभयो । उहाँका अनुसार हत्यामा संलग्न रहेका शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको छ ।
हत्यामा संलग्न रहेका नाबालक (नाम परिवर्तन) लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति, अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहात कोषबाट क्षतिपूर्ति भराउने फैसला समेत भएको उहाँले जानकारी दिनुभयो ।