मकवानपुर – बागमती प्रदेश सभाको सोमबार (भोली) हुने दुईवटा समितिको सभापतिको निर्वाचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र उमेदवारी दर्ता गराएको छ । प्रदेश सभाको भोली हुने अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति निर्वाचनका लागि एमालेले मात्र उमेदवारी दर्ता गराएको हो ।
निर्वाचन कार्यतालिका अनुसार सभापति छनौटका लागि आइतबार साँझ ५ बजेसम्म उमेद्वारी दर्ता गर्नुपर्ने थियो । तोकिएको समयमा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ ।
गत वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ । अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले भने उम्मेदवारी नै दर्ता गराएको छैन् । दुवै समूहमा एमालेको मात्र उपस्थिति रहने भएपछि जित सुनिश्चित देखिएको छ ।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन गर्ने तयारी भइरहेको छ । अर्थ समितिको सभापति पदको निर्वाचन सोमबार मध्यान्ह १२ बजेका लागि तय गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको छ ।