मकवानपुर – नेपाल एकीकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मकवानपुरगढीमा आज २५९औं विजय उत्सव मनाईएको छ । ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मुल समारोह समितिको आयोजनामा २५९ औं विजय उत्सव मनाइएको हो ।

साढेँ दुई सय वर्षअघि यही स्थानबाट अङ्गे्रजको फौजलाई गोर्खाली फौजले पराजित गरेको सम्झनामा हरेक वर्ष माघ १० गते मनाईने विजय उत्सव यो वर्ष भने कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाएर सामान्य तरीकाले मनाईएको छ । सेनवंशी मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्वत १८१९ माघ १० गते आक्रमण गरिएको थियो । मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएकाले सोही दिन जीत हासिल गरिएकोले विजय उत्सव मनाउने गरिएको हो ।
पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सवुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिवक्स गण गठन गरेका थिए । बागमती प्रदेशको राजधानी हेटौँडाबाट करीब १७ किमी पूर्वमा मकवानपुरगढी गाउँपालिका–२ मा गढी दरबार क्षेत्र रहेको छ । विसं १६१० मा सेनवंशीय राजाको शासनकालमा गढी निर्माण भएको इतिहासमा उल्लेख रहेको छ । उक्त गढी सेन वंशीय राजाहरूको विरासत हो । करीब १३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो गढीको रुपमा चिनिन्छ ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षता एवम् प्रतिनिधि सभा क्षेत्र १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख अतिथ्यतामा विजय उत्सव कार्यक्रम भएको हो । सोहि अवसरमा मकवानपुरगढी र नेपाली सेना सम्बन्धको शिला पत्र बोर्ड र राष्ट्रिय झण्डात्तोलन गरिएको छ । कार्यक्रममा २८ नम्बर बाहिनी प्रमुख सेनानी भाइकाजी थापा, पुरानो गोरख गणका निमित्त गणपती गुणराज अधिकारी, गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडासदस्य, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती थियो ।